शिर्ष स्थानमा उक्लियो रियल (भिडियोसहित)

एजेन्सी । साविक विजेता रियल मेड्रिड स्पेनिस ला लिगातर्फ शनिबार राती लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान बर्नबेयुमा सेल्टा विगोलाई २–० ले हराएको रियलले शिर्ष स्थान कब्जा गर्न सफल भएको हो ।

गत नोभेम्बर २१ यता अपराजित रहेको सेल्टाले खेलको छैटौं मिनटमै गोल खान पुगेको थियो । रियलका लागि लुकास भाजकेजले पहिलो गोलको खाता खोलेका थिए ।

भाजकेजले मार्को एसेन्सियोको क्रसमा सो गोलको खाता खोलेका थिए । दोस्रो हाफमा एसेन्सियाले नै अर्को गोल आफ्नो नाममा लेखाए । ५३औं मिनटमा रियलका लागि दोस्रो गोल गरेका एसेन्सियोले घरेलु टोलीको जित पनि पक्का गरे ।

यो जितसँगै रियल १७ खेलबाट ३६ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । यद्यपि दोस्रो स्थानमा रहेको एटलेटिको मेड्रिडले तीन खेल कम खेलेको छ र उसको ३५ अंक छ ।

एटलेटिकोले आइतबार अलावेससँग खेल्दैछ । यद्यपि त्यो खेलमा एटलेटिकोले जित हात पारे डिएगो सिमोनेको टोली फेरि शिर्ष स्थानमा उक्लिने छ । त्यस्तै उता रियलसँग पराजित सेल्टा १७ खेलबाट २३ अंकका साथ आठैं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...