तीन गोलसँगै तेस्रो स्थानमा टोटेनह्याम

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ उत्कृष्ट जितका साथ टोटेनह्याम हटसपर जितको लय समाउँदै लिगतालिकाको तेस्रो स्थानमा पुगेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामले लिडस युनाइटेडलाई ३–० ले हरायो ।

टोटेनह्यामका लागि २९औं मिनटमा हेरी केनले पेनाल्टीबाट पहिलो गोल गरे । लिडसका खेलाडीले स्टिभन बर्जविनलाई बक्स भित्र फल गर्दा टोटेनह्यामले पेनाल्टीको अवसर पाएको थियो । जसलाई केनले गोलमा परिणत गरेका थिए ।

त्यति मात्र नभएर केनले टोलीका लागि दोस्रो गोलको अवसर पनि मिलाइदिएका थिए । केन कै पासमा हियुङ–मिन सोनले घरेलु टोलीको अग्रता दोब्बर पारे । त्यस्तै सोनको पासमा दोस्रो हाफतर्फ ५०औं मिनटमा टवी एल्डरविरेल्डले तेस्रो गोल गर्दै टोलीको प्रभावशाली जित सुनिश्चित गरे ।

खेलमा प्रभावशाली जित निकाल्नुका बावजुद टोटेनह्याम अन्तिमतिर दश खेलाडीमा सिमित हुन पुगेको थियो । मेट डोहेर्टीले ९०+२औं मिनटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेसी घरेलु टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो । यद्यपि त्यो निर्णयले टोटेनह्यामको जितमा खासै प्रभाव भने पारेन ।

यो जितपछि १६ खेलबाट २९ अंक जोडेको टोटेनह्याम लिगतालिकाको तेस्रो स्थानमा छ । र लिगलिडर लिभरपुलभन्दा चार अंकले पछाडी छ । उता पराजित लिड्स भने १७ खेलबाट २३ अंकका साथ ११औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...