एजेन्सी । बर्ष २०२१ को नयाँ शुरुवातसँगै इङलिस प्रिमियर लिगमा आज राती दुई खेलहरु हुँदैछन् । लिगतालिकाको दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडले एस्टन भिल्लालाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा आतिथ्यता गर्दैछ ।
यद्यपि घरेलु मैदानमा भिल्ला विरुद्ध रेड डेविल्स हावी रहेको इतिहास छ । रिपोर्टअनुसार प्रिमियर लिगमा यी दुई टोलीबीच भएको ५० खेलहरुमध्ये भिल्लाले केवल ३ मा मात्र जित निकालेको छ ।
आजको खेलमा म्यानचेष्टरले स्टार फरवार्ड इडिन्सन कावानीले गुमाउने निश्चित छ । नश्लभेदी टिप्पणीका कारण तीन खेलको प्रतिवन्ध पाएका कावानीले तत्काल प्रभावसहित बिहीबारदेखि तीन खेलको प्रतिवन्ध झेल्दै छन् ।
🔄 The boss faces some key decisions as our busy fixture schedule continues tomorrow… 📋#MUFC #MUNAVL
— Manchester United (@ManUtd) December 31, 2020
लिगतालिकामा १५ खेलबाट ३० अंक जोडेको म्यानचेष्टर दोस्रो स्थानमा छ र लिगलिडर लिभरपुलभन्दा तीन अंकले मात्र पछाडी छ । आज म्यानचेष्टरले भिल्लालाई हराउन सके लिभरपुलसँग अंक बराबरी गर्न सफल हुनेछ ।
उता भिल्ला भने १४ खेलबाट २६ अंकका साथ पाँचौं स्थानमा छ । शुक्रबार राती नै हुने अर्को खेलमा इभर्टन र वेस्ट ह्याम भिड्दैछन् । जुन खेल इभर्टनको घरेलु मैदान गुडिसन पार्कमा हुनेछ ।