सुआरेजको निर्णायक गोलसँगै एटलेटिकोको शिर्षता यथावत

एजेन्सी । उरुग्वेयन स्टार लुईस सुआरेजले निर्णायक गोल गरेपछि एटलेटिको मेड्रिडले स्पेनिस ला लिगातर्फ बुधबार राती गेटाफेलाई १–० ले हराएको छ । साथै आफ्नो शिर्षतालाई यथावत राख्दै बर्ष २०२० को समापन पनि सुखद रुपमा गर्न सफल भएको छ ।

पहिलो हाफतर्फ २०औं मिनटमा सुआरेजले हेडद्वारा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । उता एटलेटिकोका लागि ५००औं म्याचमा व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका म्यानेजर डिएगो सिमोनका लागि पनि यो जित अविस्मरणीय भईदियो ।

यो जितपछि १४ खेलबाट ३५ अंक जोडेको एटलेटिको लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । उता दुई खेल बढी खेलेको साविक विजेता तथा एटलेटिकोको शहरी प्रतिद्वन्द्वी रियल मेड्रिड भने ३३ अंकका साथ दोस्रो स्थानमा छ । रियलले बुधबार राती नै इल्चीसँग १–१ को बराबरी खेलेपछि एटलेटिकोलाई थप फाईदा पुगेको हो ।

त्यस्तै एटलेटिकोसँग बुधबार पराजित हुन पुगेको गेटाफे भने १५ खेलबाट १७ अंकका साथ लिगतालिकाको १४औं स्थानमा खस्किन पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...