रियललाई पेनाल्टी बाधक (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ साविक विजेता रियल मेड्रिडले बुधबार राती तुलनात्मक रुपमा कमजोर आँकिएको इल्चीसँग १–१ को बराबरीमा रोकिएको छ । खेलमा शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसकेको रियलले अन्तिममा अंक बाँड्न बाध्य भयो ।

इल्चीको घरेलु मैदानमा भएको खेलको २०औं मिनटमा रियलले लुका मोड्रिकको गोलबाट खेलमा अग्रता बनाएको थियो । मार्को एसेन्सियाको प्रहार क्रसबारमा लागेर फर्किएपछि मोड्रिकले सोही बललाई गोलपोष्टको जाली चुमाएका थिए । यद्यपि रियलले त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम राख्यो ।

दोस्रो हाफमा डानी कार्वाहलले इल्चीका खेलाडीलाई बक्सभित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ५२औं मिनटमा फिडेल चावेसले कुनै गल्ती नगरी सहज रुपमा गोलमा परिणत गरेका थिए । यो बराबरीसँगै रियललको लगातार जितको यात्रामा पनि पुर्णविराम लागेको छ ।

बुधबारको नतिजापछि १६ खेलबाट ३३ अंक जोडेको रियल दोस्रो स्थानमा छ । र लिगलिडर शहरी प्रतिद्वन्द्वी एटलेटिको मेड्रिड भन्दा दुई अंकले पछाडी छ । उता रियललाई बराबरीमा रोक्न् सफल इल्ची भने १४ खेलबाट १६ अंकका साथ लिगतालिकाको १५औं स्थानमा उक्लिएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...