इभर्टन र म्यानचेष्टर सिटी बीचको खेल स्थगित

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ सोमबार हुने भनिएको म्यानचेष्टर सिटी र इभर्टनबीचको खेल कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको छ । सो खेल इभर्टनको घरेलु मैदानमा हुने भनिएको थियो ।

तर खेल शुरु हुनु भन्दा चार घण्टा अगाडी नै उक्त खेल स्थगित गरिएको प्रिमियर लिगले जनाएको छ । रिपोर्टअनुसार क्लबका खेलाडी तथा अफिसियलहरुमा कोरोना संक्रमण देखिएपछि खेल स्थगित गर्नुपरेको हो ।

स्मरण रहोस, शुक्रबार मात्र म्यानचेष्टर सिटीका स्टारद्वय ग्याब्रिल जिसुस र काइल वाकरलाई कोरोना संक्रमण भएको खबर बाहिरिएको थियो । साथै क्लबका अन्य दुई स्टाफ पनि संक्रमित भएको बताइएको थियो । सिटीले कोरोना संक्रमणको त्रासलाई मध्यनजर गर्दै आफ्नो अभ्यास पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरेको छ ।

लिग शुरु भएपछि कोरोना भाइरस कै कारण प्रिमियर लिगको खेल स्थगित गरिएको यो दोस्रो पटक हो । यसअघि गत डिसेम्बर १ तारीखका दिन एस्टन भिल्ला र न्युक्यासलबीचको खेल पनि कोभिड–१९ कै कारण स्थगित गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...