बार्नेसले जोगाए लेस्टरको हार

एजेन्सी । यस सिजन राम्रो लयमा रहेको लेस्टर सिटीले इङलिस प्रिमियर लिगतर्फ सोमबार क्रिस्टल प्यालेससँग सम्भावित हारबाट जोगिएको छ । प्यालेसको घरेलु मैदान सेलहस्र्ट पार्कमा सम्पन्न खेलमा दुवै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडे ।

खेलमा दुवै गोल दोस्रो हाफमा सम्पन्न भए । ५८औं मिनटमा विलफ्रिड जाहाको गोलबाट प्यालेसले खेलमा अग्रता लिएको थियो । एक समय घरेलु टोली जित नजिक समेत पुगेको थियो । तर प्यालेसले खेलको अन्तिमतिर आफ्नो अग्रता गुमाउन पुगेको थियो ।

८३औं मिनटमा हार्भी बार्नेसले लेस्टरका लागि बराबरी गोल गर्दै पाहुना टोलीको सम्भावित हार टारेका थिए । यो नतिजापछि १६ खेलबाट २९ अंक जोडेको लेस्टर दोस्रो स्थानमै छ । र, एक खेल कम खेलेको लिगलिडर लिभरपुलभन्दा तीन अंकले पछि । उता प्यालेस भने १९ अंकका साथ १३औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...