लण्डन डर्बीमा आर्सनलको जित, चेल्सी चुक्यो

एजेन्सी । इङलिस प्रिमियर लिगमा शनिबार राती आर्सनलले महत्वपूर्ण जित निकाल्दै आफ्नो सात खेलहरुमा जितविहीनको यात्रालाई समाप्त पारेको छ । घरेलु मैदान इमिरेटस स्टेडियममा भएको खेलमा आर्सनलले शहरी प्रतिद्वन्द्वी चेल्सी विरुद्ध ३–१ को प्रभावशाली जित निकाल्यो ।

खेलमा पहिलो हाफ मै दुई गोल गर्न सफल भएको आर्सनलले अन्ततः महत्वपुर्ण जित पनि आत्मसात गर्यो । खेलको ३४औं मिनटमा अलेक्जेन्डर लाकाजेट्टीको गोलबाट गनर्सले खेलमा अग्रता लिएको थियो । ४४औं मिनटमा ग्रेनिट हाकाले उत्कृष्ट फ्रिकिक गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

त्यस्तै तेस्रो गोल ५६औं मिनटमा बुकायो साकाले गरे । जुन गोल आर्सनललाई जित दिलाउन प्रर्याप्त पनि बन्यो । उता पराजित चेल्सीका लागि ८५औं मिनटमा टेमी अब्राहमले एक गोल फर्काए तापनि ब्लुजको हार टार्न त्यो गोल प्रर्याप्त बनेन । खेलमा जर्जिन्होको पेनाल्टी मिस हुनु चेल्सीका लागि दुर्भाग्यपुर्ण पनि रह्यो ।

यो जितसँगै १५ खेलबाट १७ अंक जोडेको आर्सनल १४औं स्थानमा उक्लिएको छ । साथै यो जितपछि क्लबका म्यानेजर मिकेल आर्टेटालाई पनि दबाब कम भएको छ । उता पराजित चेल्सी भने २५ अंकका साथ सातौं स्थानमा झर्न पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...