पिएसजीको नयाँ प्रशिक्षकमा पोचेटिनो बलियो प्रत्याशी

एजेन्सी । टोटेनह्याम हटसपरका पूर्व अर्जेन्टिनी म्यानेजर मौरिसियो पोचेटिनो फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) को नयाँ प्रशिक्षक बन्ने बलियो सम्भावना रहेको खबर बाहिर आएको छ । ४८ बर्षिय पोचेटिनो पिएसजीको सम्भावित म्यानेजरको सूचीमा छन् ।

स्रोतका अनुसार पिएसजीले आफ्ना खेलाडीहरुलाई पनि पोचेटिनो छिटै क्लबमा आवद्ध हुने बताइसकेको छ । साथै क्लब र पोचेटिनोबीच पछिल्लो दुई सातादेखि कुराकानी भइरहेको समेत बताइएको छ ।

स्मरण रहोस, पिएसजीले लिग वानतर्फ बुधबार स्ट्रासबर्गलाई ४–० ले हराएको केही घण्टा मै म्यानेजर थोमस टुचेललाई अप्रत्याशित रुपमा बर्खास्त गरेको थियो । यद्यपि ४७ बर्षिय टुचेलको क्लबसँगको सम्झौता आगामी सिजनको समापनसँगै सकिने बताइएको थियो ।

दुई बर्ष अघि पिएसजीको जिम्मेवारी सम्हालेका टुचेलले क्लबलाई दुई लिग उपाधि, फ्रेन्च कप र फ्रेन्च लिगको उपाधि समेत जिताएका थिए । त्यतिमात्र नभएर उनले गत सिजन पिएसजीलाई क्लब इतिहास मै पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा समेत पुर्याएका थिए ।

उता क्लबका नयाँ म्यानेजरका रुपमा हेरिएको पोचेटिनो फ्रेन्च जायन्ट कै पूर्व खेलाडी समेत हुन् । पोचेटिनोले सन् २००१ देखि २००३ सम्म पिएसजी कै लागि व्यवसायीक फुटबल समेत खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...