पाँच गोलको थ्रीलरमा मिलानको रोमाञ्चक जित

एजेन्सी । पाँच गोलको थ्रीलर खेलमा इटालियन सिरि ए तर्फ लिगलिडर एसी मिलानले रोमाञ्चक जित निकाल्दै लिगतालिकामा आफ्नो शिर्षतालाई कायम राखेको छ ।

बुधबार राती भएको खेलमा मिलानले लाजियोमाथि ३–२ को कठिन र रोमाञ्चक जित हात पार्यो । खेलको नवौं मिनटमै आन्टे रेबिकको गोलबाट मिलानले खेलमा अग्रता बनायो । १७औं मिनटमा हाकन कल्हानोग्लुले पेनाल्टीबाट मिलानको अग्रता दोब्बर पारे ।

यद्यपि खेलको २७औं मिनटमा लुइस अलबर्टोको गोलबाट लाजियोले खेलमा फर्कने संकेत देखायो । लाजियोका लागि दोस्रो हाफको ५९औं मिनटमा सिरो इमोबिलले गोल गरेपछि खेल २–२ को रोमाञ्चक बराबरीमा आएको थियो ।

त्यसपछिको खेल प्रतिस्पर्धात्मक रुपमा बराबरीतर्फ लम्किरहेकै बेला इन्जुरी समयको ९०+२औं मिनटमा थियो हर्नान्डेजले मिलानका लागि निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

मिलानको शिर्षता यथावत

यो जितसँगै मिलान १४ खेलबाट ३४ अंकका साथ शिर्ष स्थानमा छ । पराजित लाजियो भने २१ अंकका साथ आठौं स्थानमा छ । उता बुधबार नै हेलान वेरोना माथि २–१ कोे जित निकालेको इन्टर मिलान ३३ अंकका साथ दोस्रो स्थानमा छ र एसी मिलानमाथि दबाब कायम राखेको छ ।

त्यस्तै काग्लिरीलाई ३–२ ले हराएको रोमा २७ अंकका साथ तेस्रो स्थानमा छ । बुधबार नै भएको अर्को खेलमा साम्पडोरियामाथि ३–२ को जित निकालेको ससुओलो पनि २६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । उता मंगलबार राती फियोरेन्टिनासँग ३–० ले पराजित हुन पुगेको डिफेन्डिङ च्याम्पियन युभेन्टस भने २४ अंकका साथ छैटौं स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...