पिएसजीको एकतर्फी जित (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानतर्फ बुधबार राती एकतर्फी जित हात पारेको छ । घरेलु मैदान पर्सि डेस प्रिन्सेसमा भएको खेलमा पिएसजीले स्ट्रासबर्गमाथि ४–० को सहज जित निकाल्यो ।

खेलको १८औं मिनटमै टिमोथी पेम्बेलेको गोलबाट पिएसजीले खेलमा अग्रता लियो । एन्जल डि मारियाको प्रहार रिबाउण्ड भएपछि सोही बललाई पेम्बेलेले गोलमा परिणत गरेका थिए ।

पिएसजीले पहिलो हाफसम्म १–० कै अग्रता कायम राख्यो भने दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । ७९औं मिनटमा काइलन एम्बाप्पेले पिएसजीका लागि दोस्रो गोल गरे ।

खेलको ८८औं मिनटमा इड्रिसा ग्वीले घरेलु टोलीको अग्रता तेब्बर बनाउँदा इन्जुरी समयमा लोनमा खेलिरहेका मोइसे किनले चौथो गोल गरे र थोमस टुचेलको टोलीलाई सहज जित दिलाए ।

यो जितपछि १७ खेलबाट ३५ अंक जोडेको पिएसजी लिगतालिकाको तेस्रो स्थानमा यथावत छ । पराजित स्ट्रासबर्ग भने १४ अंकका साथ रेलिगेशन क्षेत्रको टोलीभन्दा एक स्थान माथि १७औं स्थानमा छ ।

लियोन शिर्ष स्थानमा उक्लियो

त्यस्तै बुधबार राती नै नान्टेसलाई ३–० ले हराएको लियोन ३६ अंकका साथ शिर्ष स्थानमा पुगेको छ । बुधबार नै मोन्टपेलरमाथि ३–२ को जित निकालेको लिगलिडर लिलेको पनि समान ३६ अंक छ । यद्यपि गोलभिन्नताका आधारमा पछि पर्दै लियोनभन्दा तल दोस्रो स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...