लिगलिडरसँग रियलको अंक बराबरी (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले लिगलिडर तथा शहरी प्रतिद्वन्द्वी एटलेटिको मेड्रिडसँग लिगतालिकामा अंक बराबरी गरेको छ । बुधबार राती भएको खेलमा रियलले ग्रेनाडालाई २–० ले हरायो र शिर्ष स्थानको एटलेटिको माथि दबाब कायम राख्न सफल भयो ।

रियलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ घरेलु टोलीका लागि निराशाजनक रह्यो । यद्यपि दोस्रो हाफको ५७औं मिनटमा केसेमिरोले हेडद्वारा गोल गर्दै रियललाई खेलमा अग्रता दिलाए । मैदानको बाँया भागबाट मार्को एसेन्सियोले मिलाइदिएको क्रस पासमा केसेमिरोलाई बललाई पोष्टको जाली चुमाएका थिए ।

त्यस्तै दोस्रो गोल भने खेलको अन्तिमतिर इन्जुरी समयमा यस सिजन राम्रो लयमा देखिएका करिम बेन्जेमाले गरे । २० यार्ड टाढाबाट गरेको बेन्जेमाको त्यो प्रहार गोलमा परिणत भएको थियो । साथै त्यो गोल यस सिजन बेन्जेमाको लिगको आठौं गोल समेत थियो ।

यो जितसँगै १५ खेलबाट ३२ अंक जोडेको रियल दोस्रो स्थानमा छ र शिर्ष स्थानको एटलेटिकोसँग अंक बराबरी गरेको छ । यद्यपि एटलेटिकोले रियलले भन्दा दुई खेल कम खेलेको छ । उता रियलसँग पराजित भएको ग्रेनाडा भने १४ खेलबाट २१ अंकका साथ सातौं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...