लिग कपको सेमिफाइनलमा ‘म्यानचेष्टर डर्बी’ भिडन्त तय

एजेन्सी । इङलिस फुटबल लिग कपको सेमिफाइनलमा दुई शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटी भिड्ने पक्का भएको छ । सिटी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।

बुधबार राती भएको क्वाटरफाइनल भिडन्ततर्फ म्यानचेष्टर युनाइटेडले इभर्टनलाई उसकै घरमा २–० ले हराएपछि सेमिफाइनलमा सिटीसँगको भेट पक्का गरेको हो । खेलमा म्यानचेष्टरले दुवै गोल खेलको अन्तिमतिर गर्न पुगेको थियो ।

पहिलो गोल ८८औं मिनटमा इडिन्सन कावानीले उत्कृष्ट गोलका रुपमा गरे । इन्जुरी समयको ९०+६औं मिनटमा एन्थोनी मार्शलले दोस्रो गोल गर्दै रेड डेविल्सको सेमिफाइनल यात्रा सुनिश्चित गरे ।

टोटेनह्याम पनि अन्तिम चारमा

बुधबार राती नै भएको अर्को क्वाटरफाइनल खेलमा टोटेनह्याम हटसपरले स्टोक सिटीलाई ३–१ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो । स्टोकको घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामका लागि २२औं मिनटमा गारेथ बेलले गोलको खाता खोलेका थिए ।

यद्यपि दोस्रो हाफको ५३औं मिनटमा जोर्डन थम्पसनले स्टोकका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । तर टोटेनह्याम त्यति मै रोकिएन । ७०औं मिनटमा बेन डेभिसले टोलीका लागि दोस्रो गोल गरे भने ८१औं मिनटमा हेरी केनले तेस्रो गोल गर्दै पाहुना टोलीको अन्तिम चारको यात्रा पक्का गरे ।

सेमिफाइनल समिकरण

बुधबार रातीको दुई खेलहरु समापन भएसँगै लिग कपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनल खेलहरु आगामी बर्षको जनवरीमा हुने तय भएको छ । जसअन्तरगत पहिलो सेमिफाइनल खेल म्यानचेष्टर युनाइटेड र साविक विजेता म्यानचेष्टर सिटी बीच ओल्ड ट्राफोर्डमा हुनेछ ।

दोस्रो सेमिफाइनलमा टोटेनह्यामले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डको सामना गर्नेछ । सो खेल लण्डन स्थित टोटेनह्यामको घरेलु मैदानमा हुनेछ । स्मरण रहोस, मंगलबार राती मात्र न्युक्यासल युनाइटेडलाई स्तब्ध पार्दै ब्रेन्टफोर्डले ऐतिहासिक रुपमा लिग कपको सेमिफाइनल यात्रा तय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...