लिग कपः आर्सनल क्वाटरफाइनलबाटै नकआउट (भिडियोसहित)

एजेन्सी । दुईपल्टको विजेता आर्सनल प्रतिष्ठित इङलिस फुटबल लिग कपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । मंगलबार राती भएको क्वाटरफाइनल भिडन्तमा आर्सनलले डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीसँग ४–१ को लज्जाजनक हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

आर्सनलको घरेलु मैदान इमिरेटस स्टेडियममा भएको खेलका तेस्रो मिनटमै ग्याब्रिल जिसुसको गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो । तर ३१औं मिनटमा अलैक्जेन्डर लाकाजेट्टेले आर्सनलका लागि बराबरी गोल गर्दै पहिलो हाफसम्म खेल १–१ को बराबरीमा ल्याएका थिए ।

तर दोस्रो हाफमा सिटी आक्रमक बन्यो । ५४औं मिनटमा रियाद महरेजले सिटीलाई दोस्रोपटक खेलमा अग्रता दिलाए । त्यसको पाँच मिनट लगतै फिल फोडेनले सिटीका लागि तेस्रो गोल गरे भने ७३औं मिनटमा इमरिक लापोर्टेले चौथो गोल गर्दै सिटीको सेमिफाइनल यात्रा तय गरेका थिए ।

उता मंगलबार नै भएको अर्को क्वाटरफाइनलमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डले न्युक्यासल युनाइटेडमाथि १–० को सनसनीपूर्ण जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...