बार्साको जितमा मेसीले तोडे पेलेको किर्तिमान (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ मंगलबार राती क्याटलन जायन्ट बार्सिलोनाले रियल भालाडोलिड विरुद्ध ३–० को प्रभावशाली जित निकालेको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेसीले पनि एक विशेष किर्तिमान बनाएका छन् ।

भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा ३३ बर्षिय मेसीले बार्साका लागि तेस्रो गोल गरेका थिए । खेलको ६५औं मिनटमा मेसीले गरेको त्यो गोलसँगै उनले ब्राजिलियन लिजेण्ड पेलेको किर्तिमान तोड्न सफल भए ।

गत साता मात्र बार्सिलोनाका लागि ६४३ गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने पेलेको किर्तिमान बराबरी गरेका मेसीले मंगलबार राती ६४४ गोल गर्दै पेलेको त्यो किर्तिमान तोड्न सफल भए ।

यद्यपि खेलमा बार्साले २१औं मिनटमा क्लिमेन्ट लेंगलेटको गोलबाट अग्रता लिएको थियो । त्यो गोलका लागि मेसीले नै पास मिलाइदिएका थिए । त्यस्तै दोस्रो गोल भने ३५औं मिनटमा मार्टिन ब्राथवेटले गरेका थिए ।

यो जितपछि बार्सिलोना १४ खेलबाट २४ अंक जोड्दै लिगतालिकाको पाँचौं स्थानमा छ । र लिगलिडर एटलेटिको मेड्रिड भन्दा आठ अंकले पछाडी छ । उता बार्सासँग पराजित भालाडोलिड भने १४ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...