घरमै युभेन्टसको निराशाजनक हार (भिडियोसहित)

एजेन्सी । इटालियन सिरि ए तर्फ मंगलबार राती डिफेन्डिङ च्याम्पियन युभेन्टसले घरेलु मैदान मै फियोरेन्टिनासँग ३–० को निराशाजनक हार बेहोरेको छ । दश खेलाडीमा सिमित हुन पुगेको युभेन्टस विरुद्ध फियोरेन्टिनाले खेलको तेस्रो मिनटमै डुसान व्लोहोभिकको गोलबाट अग्रता बनाएको थियो ।

त्यस्तै पहिलो हाफकै १८औं मिनटमा युभेन्टसका मिडफिल्डर जुआन क्वाडराडोले विपक्षी खेलाडीलाई डरलाग्दो फल गरेपछि सोझै रातो कार्डको सामना गरेका थिए । त्यसपछि घरेलु मैदानमा युभेन्टस खेलको पहिलो हाफबाटै दबाबमा पर्न बाध्य भएको थियो ।

खेलमा थप दुई गोल भने युभेन्टसले दोस्रो हाफमा खान पुग्यो । खेलको ७६औं मिनटमा लोवो सिल्वाले आत्मघाती गोल गर्दा युभेटस ०–२ ले पछि पर्न पुग्यो । ८१औं मिनटमा मार्टिन केसिरेसले तेस्रो गोल गर्दा फियोरेन्टिनाले युभेन्टस विरुद्ध ३–० को प्रभावशाली जित सुनिश्चित गरेको थियो ।

खेलमा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले पनि केही गोलको अवसर पाएका थिए । तर त्यसलाई सही रुपमा सदुपयोग गर्न भने सकेनन् । मंगलबार राती सिजनको पहिलो हार बेहोरेको युभेन्टस १३ खेलबाट २४ अंकका साथ चौथो स्थानमा झरेको छ । र लिगलिडर एसी मिलान भन्दा ७ अंकले पछि परेको छ ।

त्यस्तै समान २४ अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा नापोली तेस्रो स्थानमा छ । उता जित हात पारेको फियोरेन्टिना भने १४ अंकका साथ १५औं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...