ओल्ड ट्राफोर्डमा म्यानचेष्टरको गोल बर्षा (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ आइतबार राती म्यानचेष्टर युनाइटेडले फराकिलो जित हात पारेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेष्टरले लिड्स युनाइटेडलाई ६–२ ले हरायो ।

खेलको शुरुवातबाटै हावी देखिएको म्यानचेष्टरले पहिलो हाफ मै चार गोल गरेको थियो । त्यसमध्ये खेल शुरु भए लगतै दोस्रो र तेस्रो मिनटमा स्कट म्याकटमिनेले लगातार दुई गोल गर्दै घरेलु टोलीलाई प्रभावशाली अग्रता दिलाएका थिए । त्यो दुई गोलसँगै प्रिमियर लिगमा शुरुवाती तीन मिनटमा दुई गोल गर्ने उनी पहिलो खेलाडी समेत बने ।

२०औं मिनटमा ब्रुनो फर्नान्डेसले त्यो अग्रता तेब्बर पारे भने ३७औं मिनटमा भिक्टर लिन्डलफले रेड डेविल्सका लागि पहिलो हाफमै चौथो गोल गरे । उता चौथो गोल खाएको चार मिनटपछि लिडसका लागि लियाम कुपरले पहिलो गोल फर्काए ।

दोस्रो हाफमा पनि नरोकिएको म्यानचेष्टरका लागि ६६औं मिनटमा डेनिल जेम्सले पाँचौं गोल गरे भने त्यसको चार मिनट लगतै फर्नान्डेसले नै पेनाल्टीबाट व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्न सफल भए ।

छैटौं गोल खाएको तीन मिनटपछि लिड्सका लागि स्टुआर्ट डालासले दोस्रो गोल फर्काए तापनि त्यतिबेलासम्म टोलीको हार टार्न ढिला भइसकेको थियो ।

यो जितसँगै १३ खेलबाट २६ अंक जोडेको म्यानचेष्टर युनाइटेड लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ र दोस्रो स्थानको लेस्टर भन्दा एक अंकले मात्र पछाडी छ । शिर्ष स्थानमा ३१ अंकका साथ लिभरपुल छ । उता पराजित लिड्स भने १७ अंकका साथ १४औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...