एजेन्सी । यस सिजन निकै खराब लयबाट गुज्रिरहेको लण्डन क्लब आर्सनलले इङलिस प्रिमियर लिगतर्फ शनिबार राती इभर्टनसँग २–१ ले पराजित हुन पुगेको छ ।
इभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको त्यो हार प्रिमियर लिगमा यस सिजन आर्सनलको आठौं हार समेत हो । खेलको २२औं मिनटमा रब होल्डिङको आत्मघाती गोलबाट इभर्टनले खेलमा अग्रता बनाएको थियो ।
डोमिनिक कलभर्ट–लेविनबाट फ्लीक भएको बलले होल्डिङलाई लाग्दै गोलपोष्टको दिशा लिएको थियो । तर इभर्टनका टम डेविसले आर्सनलका खेलाडीलाई बक्स भित्र फल गर्दा पाहुना टोलीले पेनाल्टीको अवसर पाएको थियो ।
जसलाई ३५औं मिनटमा निकोलस पेपेले गोलमा परिणत गर्दै आर्सनललाई खेलमा १–१ को बराबरीमा ल्याएका थिए । यद्यपि आर्सनलले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन । ४५औं मिनटमा यरि मिनाले इभर्टनका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।
यो जितसँगै इभर्टन १४ खेलबाट २६ अंकका साथ लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ र लिगलिडर लिभरपुलभन्दा भन्दा पाँच अंकले पछि । उता पराजित आर्सनल भने १४ अंकका साथ १५औं स्थानमा छ र रेलिगेशन क्षेत्रको टोली बर्नली भन्दा ४ अंकले मात्र अगाडी छ ।