लेवान्डोस्की निर्णायक बन्दा बायर्न शिर्ष स्थानमा उक्लियो (भिडियोसहित)

एजेन्सी । केही दिन अघि मात्र फिफाको द बेस्ट अवार्ड जितेका पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले निर्णायक भूमिका खेल्दै दुई गोल गरेपछि साविक विजेता बायर्न म्युनिख बुण्डेसलिगातर्फ लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राती भएको प्रतिस्पर्धात्मक खेलमा बायर्नले बायर लेभरकुसेनलाई २–१ ले हरायो र लेभरकुसेनलाई दोस्रो स्थानमा धकेल्दै बायर्नले शिर्ष स्थान कब्जा गर्न सफल भयो ।

खेलको १४औं मिनटमा प्याट्रिक शिकको सुन्दर भली गोलबाट लेभरकुसेनले खेलमा सनसनीपूर्ण अग्रता बनाएको थियो । तर बायर्नले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो ।

पहिलो हाफ कै ४३औं मिनटमा लेवान्डोस्कीले बराबरी गोल फर्काए । त्यसपछिको अधिकांश खेल १–१ को बराबरीतर्फ नै लम्किरहेका बेला लेवान्डोस्कीले ९०+३औं मिनटमा दोस्रो तथा निर्णायक गोल गर्दै बायर्नलाई महत्वपुर्ण जित दिलाए ।

यो जितसँगै १३ खेलबाट ३० अंक जोडेको बायर्न लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पराजित लेभरकुसेनले भने आफ्नो शिर्ष स्थान गुमाउँदै २८ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...