बराबरीमा रोकियो बार्सिलोना (भिडियोसहित)

एजेन्सी । यस सिजन खराब लयबाट गुज्रिरहेको क्याटलन जायन्ट बार्सिलोना स्पेनिस ला लिगातर्फ शनिबार राती भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

क्याम्प नोउमा भएको खेलको २९औं मिनटमा मुक्तर डाइखावीको गोलबाट भ्यालेन्सियाले खेलमा सनसनीपूर्ण अग्रता बनाएको थियो । यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा एन्टोइन ग्रीजम्यानलाई विपक्षी खेलाडीले बक्स भित्र फल गर्दा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो ।

पेनाल्टी प्रहार गर्न अघि सरेका अर्जेन्टिनी स्टार लियोनल मेसीको पेनाल्टी शुट भ्यालेन्सियाका गोलरक्षक जाउमी डोमिनिकले बचाएका थिए । तर बचाएको सोही बललाई एक मिनट बित्न नपाउँदै मेसीले डाईभिङ हेड गोल गर्दै पहिलो हाफ मै खेललाई १–१ को बराबरीमा ल्याउन सफल भएका थिए ।

दोस्रो हाफमा भने बार्सिलोनाले अग्रता लियो । खेलको ५२औं मिनटमा रोनाल्ड आरुजोले गोल गर्दै घरेलु टोलीलाई २–१ को स्थितिमा पुर्याए । तर बार्साले पनि त्यो अग्रता जोगाउन सकेन । ६९औं मिनटमा म्याक्सीमिलियानो गोमेजले भ्यालेन्सियाका लागि दोस्रो तथा बराबरी गोल गर्दै बार्सिलोनासँग अंक खोस्न सफल भएका थिए ।

यो नतिजासँगै १३ खेलबाट २१ अंक जोडेको बार्सिलोना लिगतालिकाको पाँचौं स्थानमा छ । र शिर्ष स्थानमा रहेको एटलेटिको मेड्रिड भन्दा आठ अंकले पछाडी छ । उता भ्यालेन्सिया भने १४ खेलबाट १५ अंकका साथ १२औं स्थानमा रहन सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...