प्यालेसको पोष्टमा लिभरपुलको सात गोल (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन लिभरपुलले इङलिस प्रिमियर लिगमा शनिबार एकतर्फी र फराकिलो जित हात पारेको छ । फराकिलो जित हात पार्ने क्रममा लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै घरमा ७–० को भारी अन्तरले हरायो ।

सेलहस्ट पार्कमा भएको खेलको तेस्रो मिनटमै जापानीज स्टार ताकुमी मिनामिनोको गोलबाट रेडसले खेलमा शुरुवाती अग्रता बनाएको थियो । ३५औं मिनटमा साडियो मानेले त्यो अग्रता दोब्बर पारे । ४४औं मिनटमा रोबर्टो फर्मिनोले तेस्रो गोल गर्दा लिभरपुलले पहिलो हाफसम्म ३–० को अग्रता बनाउन सफल भएको थियो ।

दोस्रो हाफमा थप आक्रमक बनेको लिभरपुलका लागि कप्तान जोर्डन हेन्डरसनले ५२औं मिनटमा चौथो गोल गरे । लिभरपुल त्यति मै रोकिएन । ६८औं मिनटमा फर्मिनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्न सफल भए । त्यस्तै खेलको अन्तिमतिर ८१ र ८४औं मिनटमा मोहमद सलाहले लगातार दुई गोल गर्दै पाहुना टोलीको फराकिलो जित पक्का गरे ।

यो जितसँगै १४ खेलबाट ३१ अंक जोडेको लिभरपुलले दोस्रो स्थानको टोली टोटेनह्याम भन्दा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । टोटेनह्याम २५ अंकका साथ दोस्रो स्थानमा छ । यद्यपि लण्डन क्लबले लिभरपुलले भन्दा एक खेल कम खेलेको छ । उता पराजित प्यालेस भने १८ अंकका साथ १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...