ऐतिहासिक किर्तिमान बनेको खेलमा हार्यो डर्टमुण्ड

एजेन्सी । जर्मन बुण्डेसलिगातर्फ शुक्रबार राती ऐतिहासिक किर्तिमान बनेको खेलमा बोरुसिया डर्टमुण्डले पनि स्तब्धपुर्ण हारको सामना गरेको छ । खेलमा डर्टमुण्डका युसुफा मुकोको बुण्डेसलिगा इतिहास मै सबैभन्दा कान्छा गोल गर्ने खेलाडी बनेको खेलमा डर्टमुण्डले युनियन बर्लिनसँग १–२ को हार बेहोर्न पुग्यो ।

युनियन बर्लिनको घरेलु मैदानमा भएको खेलमा सबै गोलहरु दोस्रो हाफमा सम्पन्न भए । गोलको अग्रता बर्लिनले नै लिएको थियो । ५७औं मिनटमा ताइवो एओनीको गोलबाट बर्लिनले खेलमा अग्रता बनाएको थियो । तर वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मुकोकोले ६०औं मिनटमा गोल गर्दै डर्टमुण्डलाई खेलमा फर्काएका थिए ।

युसुफा मुकोको ।

मुकोकोले गरेको त्यो गोल उनका लागि बुण्डेसलिगामा दुर्लभ किर्तिमान पनि बन्यो । केवल १६ बर्ष २८ दिन पुगेका मुकोको त्यो गोलसँगै उनी बुण्डेसलिगाको इतिहासमा सबैभन्दा कान्छो उमेरमा गोल गर्ने खेलाडी बन्न समेत सफल भए । यद्यपि डर्टमुण्डको हार त्यो किर्तिमानी गोलले जोगाउन सकेन ।

उता बर्लिनका लागि मार्विन फ्रिडरिचले ७८औं मिनटमा हेडद्वारा दोस्रो गोल गर्दै घरेलुलाई रोमाञ्चक र महत्वपूर्ण जित दिलाए । यो जितसँगै १३ खेलबाट २१ अंक जोडेको युनियन बर्लिन लिगतालिकाको पाँचौं स्थानमा पुगेको छ र चौथो स्थानको डर्टमुण्ड भन्दा १ अंकले मात्र पछाडी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...