पिएसजीको जित र एम्बाप्पेको कपालको चर्चा (भिडियोसहित)

एजेन्सी । ‘मिडविक म्याच’ का रुपमा युरोपका शिर्ष लिगहरु बुधबार राती व्यस्त रहेकै बेला फ्रेन्च लिग वानतर्फ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) र उसको फरवार्ड किलियन एम्बाप्पेको कपालको स्टाईल चर्चामा रह्यो ।

बुधबार राती घरेलु मैदानमा भएको खेलमा पिएसजीले दश खेलाडीमा खुम्चिएको लोरिन्टलाई २–० ले हरायो । पिएसजीले दुवै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो ।

४९औं मिनटमा लोरिन्टका एन्ड्रियु ग्रेभिलनले एम्बाप्पेलाई बक्स भित्र फल गरेपछि ग्रेभिलनले रातो कार्डको सामना गर्नु परेको थियो भने पिएसजीले पेनाल्टीको अवसर पाएको थियो ।

जसलाई ५१औं मिनटमा एम्बाप्पेले सहजै गोलमा परिणत गरेका थिए । त्यस्तै दोस्रो गोल भने ६१औं मिनटमा मोइसे किनले गरे । हाल इङलिस क्लब इभर्टनबाट पिएसजीका लागि लोनमा खेलिरहेका किनले राफिन्हाको पासमा दोस्रो गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

यो जितसँगै १५ खेलबाट ३१ अंक जोडेको पिएसजीले लियोनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । स्मरण रहोस, बुधबार राती नै लियोनले ब्रिस्टसँग २–२ को बराबरी खेलेपछि आफ्नो दोस्रो स्थान गुमाउन पुगेको हो ।

त्यस्तै शिर्ष स्थानमा ३२ अंकका साथ लिले रहेको छ । उता पिएसजीसँग पराजित हुन पुगेको लोरिन्ट भने ११ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा झरेको छ ।

एम्बाप्पेको कपालको चर्चा

बुधबार राती घरेलु मैदान पर्सि डेस प्रिन्सेसमा पिएसजीको जितसँगै एम्बाप्पेको कपालको शैलीले पनि चर्चा पायो । म्याचका लागि मैदान प्रवेश गरेका एमबाप्पेको कपाल पुरै निलो रंगले रंगिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि त्यसलाई चासोका साथ चर्चा गर्दै पोष्ट गरिरहेका थिए । खेलमा उनले गोल गरेपछि ख्यालठट्टा मै एम्बाप्पेलाई निलो रंगको कपालले फापेको चर्चा पनि धेरैले गर्न थालेका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...