एनफिल्डमा जितसँगै शिर्ष स्थानमा उक्लियो लिभरपुल (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ बुधबार राती महत्वपूर्ण मानिएको खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले टोटेनह्याम हटसपरलाई २–१ ले हराउँदै शिर्ष स्थान कब्जा गरेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको प्रतिस्पर्धात्मक खेलमा अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखेको लिभरपुलका लागि २७औं मिनटमा मोहमद सलाहले गोलको खाता खोलेका थिए ।

तर त्यसको पाँच मिनट लगतै जियोभानी लो सेल्सोको पासमा कोरियन स्टार ह्युङ मिन सोनले बराबरी गोल फर्काएका थिए । बराबरी गोल फर्काए यता कडा रक्षात्मक खेलेको टोटेनह्यामले लिभरपुललाई गोलपोष्ट नजिक जान निकै कठिन बनाइदिएको थियो ।

खेल बराबरीतर्फ नै लम्किरहेको बेला खेलको अन्तिमतिर ९०औं मिनटमा रोबर्टो फर्मिनोले हेड गोल गर्दै घरेलु टोलीको महत्वपूर्ण जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै १३ खेलबाट २८ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा उक्लियो । २५ अंक जोडेको पराजित टोटेनह्याम भने दोस्रो स्थानमा झर्न बाध्य भयो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...