रोनाल्डोले पेनाल्टी मिस गर्दा रोकियो युभेन्टस (भिडियोसहित)

एजेन्सी । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले पेनाल्टी मिस गर्दा इटालियन सिरि ए तर्फ च्याम्पियन युभेन्टसले बुधबार राती एटलान्टासँग १–१ को बराबरी खेल्न बाध्य भएको छ ।

युभेन्टसको घरेलु मैदानमा भएको खेलको २९औं मिनटमा फेडरिको चिसाको गोलबाट युभेन्टसले खेलमा अग्रता लिएको थियो । लिगमा युभेन्टसका लागि चिसाको यो पहिलो गोल समेत थियो ।

युभेन्टसले पहिलो हाफसम्म १–० कै अग्रता कायम पनि राख्यो । तर दोस्रो हाफको ५७औं मिनटमा रेमो फ्रुलरले एटलान्टाका लागि गोल गर्दे खेललाई बराबरीमा ल्याएका थिए ।

उता युभेन्टसले पेनाल्टीको अवसर पनि पाएको थियो । तर रोनाल्डोको पेनाल्टी प्रहार एटलान्टाका गोलरक्षक पियरलुइजी गोलिनीले सही अनुमान लगाउँदै जोगाएका थिए ।

युभेन्टस विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका गोलिनीले अल्वारो मोराटाले गरेको राम्रो गोल प्रयास पनि उत्कृष्ट रुपमा जोगाउँदै पाहुना टोलीको सम्भावित हार टारेका थिए ।

लिगमा युभेन्टसको छैटौं बराबरी

डिफेन्डिङ च्याम्पियन युभेन्टसले सिरि ए मा बुधबार राती १२ खेलहरुमध्ये छैटौं बराबरी खेल्यो । हालसम्म अपराजित रहे तापनि युभेन्टसले खेलेको कुल खेलहरुमध्ये आधा खेलहरुमा उसले बराबरी खेल्न बाध्य भएको छ ।

बुधबारको नतिजापछि १२ खेलबाट २४ अंक जोडेको युभेन्टस लिगतालिकाको तेस्रो स्थानमा छ र लिगलिडर एसी मिलान भन्दा ४ अंकले पछाडी छ । दोस्रो स्थानमा २७ अंकका साथ इन्टर मिलान छ ।

त्यस्तै बुधबार युभेन्टसलाई बराबरीमा रोकेको एटलान्टा भने ११ खेलबाट १८ अंकका साथ लिगतालिकाको आठौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...