बेन्जेमाको दुई गोलसँगै रियलको शिर्षता (भिडियोसहित)

एजेन्सी । फ्रेन्च स्टार करिम बेन्जेमाले दुई गोल गरेपछि स्पेनिस ला लिगामा रियल मेड्रिडले उत्कृष्ट जित निकाल्दै लिगलिडर रियल सोसिडाडसँग अंक बराबरी गर्न सफल भएको छ ।

घरेलु मैदान स्टाडियो अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा रियलले एथलेटिक बिल्बाओलाई ३–१ ले हरायो । खेलको शुरुवातबाटै दश खेलाडीमा सिमित हुन पुगेको एथलेटिकले खेलमा पहिलो हाफबाटै दबाब खेप्नु परेको थियो ।

रियलका खेलाडीलाई लगातार फल गरेपछि खेलको १३औं मिनटमै एथलेटिकका राउल गार्सियाले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्नु परेको थियो ।

रियलले पहिलो गोल पहिलो हाफको इन्जुरी समयमा गर्यो । टोनी क्रुसले घरेलु टोलीका लागि पहिलो गोलको खाता खोले । खेलमा एकपक्षीय दबाब कायम राखेको रियलका लागि ७४औं मिनटमा बेन्जेमाले दोस्रो गोल गरे भने अन्तिमतिर इन्जुरी सयमा तेस्रो गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

उता पराजित एथलेटिकका लागि एन्डर कापाले ५२औं मिनटमा एक मात्र सान्त्वना गोल फर्काए । तर टोलीको पराजय भने टार्न सकेनन् ।

यो जितसँगै रियलले १३ खेलबाट २६ अंक जोड्दै शिर्षका दुई टोली रियल सोसिडाड र एटलेटिको मेड्रिडसँग अंक बराबरी गर्न सफल भएको छ । सोसिडाड गोलभिन्नताका आधारमा शिर्ष स्थान मै छ भने दोस्रो तथा रियल तेस्रो स्थानमा छ । एटलेटिकोले भने दुई खेल कम खेलेको छ ।

उता पराजित एथलेटिक बिल्बाओ भने १४ अंकका साथ १३औं स्थानमा रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...