च्याम्पियन्स लिगको नकआउट चरणमै बार्सा र पिएसजी भिड्ने

एजेन्सी । प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको नकआउट चरणको ड्र सार्वजनिक गरिएको छ । नकआउट चरणका खेलहरु आउँदो फेब्रुअरीदेखि मार्चसम्म हुने छन् ।

ड्र अनुसार क्याटलन जायन्ट बार्सिलोनाले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ । यो ड्र सँगै ब्राजिलियन स्टार नेमारले मेसी विरुद्ध भिड्ने पनि पक्का भएको छ । स्मरण रहोस, पिएसजी गत बर्षको च्याम्पियन्स लिगको उपविजेता टोली समेत हो ।

त्यस्तै डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले इटालियन क्लब लाजियोलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ । रोचक कुरा त लाजियो २० बर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

त्यस्तै इङलिस च्याम्पियन लिभरपुलले जर्मन क्लब आरबी लिपजिगसँग खेल्नेछ । अर्को इङलिस क्लब म्यानचेष्टर सिटीले भने सन् १९७८ पछि पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबेचसँग खेल्ने तय भएको छ ।

त्यसैगरी अर्को इङलिस क्लब चेल्सीले एटलेटिको मेड्रिडलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ भने १३ पल्टको च्याम्पियन्स लिग विजेता रियल मेड्रिडले इटालियन क्लब एटलान्टासँग खेल्नेछ ।

त्यस्तै बोरुसिया डर्टमुण्डले स्पेनिस क्लब सेभियासँग भिड्दा इटालियन च्याम्पियन युभेन्टसले तुलनात्मक रुपमा कमजोर मानिएको पोर्चुगिज क्लब एएफसी पोर्टोको सामना गर्नेछ ।

रिपोर्टअनुसार नकआउट चरणको पहिलो लेगको खेलहरु १६, १७, २३ र २४ फेब्रुअरीका दिन हुनेछ भने दोस्रो लेगका खेलहरु ९, १०, १६ र १७ मार्चका दिन हुनेछन् ।

 

 

 


प्रतिक्रिया दिनुहोस

Loading...