एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले पेनाल्टीबाट एक्लैले दुई गोल गरेपछि इटालियन सिरि ए तर्फ लिग च्याम्पियन युभेन्टसले जिनोआलाई ३–१ ले हराएको छ ।
जिनोआको घरेलु मैदानमा भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भयो । यद्यपि खेलमा अग्रता युभेन्टसले नै लिएको थियो । ५७औं मिनटमा पाउलो डायबलाले युभेन्टसलाई खेलमा अग्रता दिलाए ।
तर त्यसको चार मिनट लगतै स्टेफानो स्टुराओले जिनोआका लागि बराबरी गोल फर्काएका थिए । तर खेलमा आक्रमक देखिएको युभेन्टसले लगातार दुई पेनाल्टीको अवसर पायो ।
युभेन्टसले पहिलो पेनाल्टी जुआन क्वाडराडोलाई विपक्षी खेलाडीले बक्स भित्र फल गर्दा पाएको थियो । जसलाई ७८औं मिनटमा रोनाल्डोको पोष्टको जाली चुमाए ।
खेलको अन्तिमतिर अल्वारो मोरोटालाई पनि जिनोआका खेलाडीले बक्स भित्र फल गरेपछि युभेन्टसले दोस्रो पेनाल्टीको अवसर पाएको थियो । जसलाई पनि रोनाल्डोले ८९औं मिनटमा कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए ।
यो जितसँगै ११ खेलबाट २४ अंक जोडेको युभेन्टस लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ । र शिर्ष स्थानमा रहेको एसी मिलान भन्दा ३ अंकले पछाडी छ । मिलानले आइतबार राती नै पार्मासँग २–२ गोलको बराबरी खेलेको थियो ।
उता युभेन्टससँग पराजित हुन पुगेको जिनोआ भने केवल ६ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा पुगेको छ ।