क्याम्प नोउमा मेसीको निर्णायक गोल (भिडियोसहित)

एजेन्सी । यस सिजन स्पेनिस ला लिगामा खराब लयबाट गुज्रिरहेको क्याटलन जायन्ट बार्सिलोनाले आइतबार राती लेभान्टे विरुद्ध १–० को महत्वपूर्ण जित निकालेको छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेसी नै निर्णायक रहे । तर रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको लेभान्टे विरुद्ध गोल गर्न बार्सालाई पनि निकै पापड बेल्नु पर्यो ।

पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेले । दोस्रो हाफतर्फ ७६औं मिनटमा फ्रेन्की डि जोंगको पासमा मेसीले क्लिनिकल गोल गर्दै घरेलु टोलीलाई अहम जित दिलाए ।

लिगमा बार्साको यो पाँचौं जित थियो । यो जितसँगै ११ खेलबाट १७ अंक जोडेको बार्सिलोना दुई स्थान माथि उक्लिदै आठौं स्थानमा पुगेको छ । बार्साले आउँदो बुधबार नै लिगलिडर रियल सोसिडाडसँग खेल्ने कार्यक्रम छ ।

सोसिडाडको १३ खेलबाट २६ अंक छ । उता आइतबार बार्सिलोनासँग पराजित भएको लेभान्टे भने १२ खेलबाट ११ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...