सलाहले जोगाए लिभरपुलको हार (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ आइतबार राती डिफेन्डिङ च्याम्पियन लिभरपुल नवआगन्तुक टोली फुलह्यामसँग सम्भावित हारबाट जोगिएको छ । साथै रेडसले लिगतालिकाको शिर्ष स्थानमा उ्िक्लने मौका पनि गुमाएको छ ।

फुलह्यामको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १–१ को बराबरी खेल्दै अंक बाँड्यो । खेलको २५औं मिनटमै बबी डि कोर्डोवा रिडले सनसनीपूर्ण गोल गर्दै फुलह्यामलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म फुलह्यामले सोही अग्रतालाई कायम पनि राख्यो । खेलमा प्रभावशाली प्रदर्शन गरेको फुलह्यामले लिभरपुललाई दबाबमा पनि राख्न सफल भएको थियो ।

तर दोस्रो हाफको अन्तिमतिर लिभरपुलले पेनाल्टीको अवसर पायो । जसलाई ७९औं मिनटमा इजिप्शियन स्टार मोहमद सलाहले गोलमा परिणत गर्दै लिभरपुलको सम्भावित हार टारे ।

लिभरपुलको शिर्ष स्थानमा उक्लिने अवसर गुम्यो

आइतबार रातीको बराबरीसँगै लिभरपुलले लिगतालिकाको शिर्ष स्थान कब्जा गर्ने अवसर गुमाएको छ । १२ खेलबाट २५ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । समान अंक जोडेको टोटेनह्याम गोल भिन्नताका आधारमा शिर्ष स्थानमा छ ।

टोटेनह्यामले पनि आइतबार नै क्रिष्टल प्यालेससँग १–१ को बराबरी खेलेको थियो । उता जित नजिक पुगेर पनि बराबरीमा रोकिन पुगेको फुलह्याम भने ८ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ । र रेलिगेशन क्षेत्रबाट बाहिर निस्किन संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...