बराबरीसँगै टोटेनह्यामलाई धक्का (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा आइतबार लिगलिडर टोटेनह्याम हटसपर शुरुवाती अग्रता लिएर खेलमा बराबरीमा रोकिन बाध्य भएको छ । लण्डन डर्बी भिडन्तका रुपमा रहेको खेलमा टोटेनह्यामले अर्को शहरी प्रतिद्वन्द्वी क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

प्यालेसको घरेलु मैदानमा भएको खेलको २३औं मिनटमा हेरी केनले टोटेनह्यामका लागि गोलको खाता खोलेका थिए । सोन ह्युङ–मिनको पासलाई सदुपयोग गर्दै केनले टोलीका लागि गोल गर्न सफल भएका थिए । तर पाहुना टोलीले त्यसलाइृ अन्तिमसम्म जोगाउन सकेन ।

उता खेलको ८१औं मिनटमा प्यालेसका लागि जेफ्री स्लुपले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए भने घरेलु टोलीको सम्भावित हार समेत टारेका थिए । विपक्षी गोलरक्षक हुगो लोरिसको गल्तीको फाईदा उठाउँदै स्लुपले बललाई पोष्टको जाली चुमाएका थिए ।

यो बराबरीसँगै टोटेनह्यामलाई लिगतालिकामा शिर्षताको होडमा धक्का लागेको छ । १२ खेलबाट २५ अंक जोडेको टोटेनह्याम शिर्ष स्थानमा छ । २४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ र रेडसले आइतबार राती नै फुलह्यामसँग खेल्दैछ ।

सो खेलमा लिभरपुलले जित हात पारे यर्गन क्लपको टोली शिर्ष स्थानमा उक्लिने छ । त्यस्तै टोटेनह्यामलाई बराबरीमा रोक्दै अंक खोस्न सफल क्रिस्टल प्यालेस भने १७ अंकका साथ ११औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...