नवआगन्तुक टोलीसँग डर्टमुण्डको लज्जाजनक हार (भिडियोसहित)

एजेन्सी । बुण्डेसलिगामा लिगको दावेदार मध्ये एक मानिएको बोरुसिया डर्टमुण्डले शनिबार लिगमा यसै सिजन बढुवा भएको टोली स्टुटगार्टसँग लज्जाजनक हार बेहोरेको छ ।

डर्टमुण्डको घरेलु मैदान मै भएको खेलमा स्टुटगार्टसँग ५–१ ले पराजित हुन पुगेपछि डर्टमुण्डको लिग उपाधि होड थप चुनौतिपुर्ण बन्न पुगेको छ । खेलको २६औं सिलास वमनगिटुकाले पेनाल्टीबाट स्टुटगार्टका लागि पहिलो गोल गर्दै पाहुना टोलीलाई खेलमा अग्रता दिलाएका थिए ।

तर ३९औं मिनटमा जियोभानी रेनाले डर्टमुण्डका लागि बराबरी गोल फर्काए । रेनाले राफेल ग्वेरिरोको पासमा सटिक गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए । तर दोस्रो हाफमा भने डर्टमुण्ड निरीह बन्न पुग्यो ।

५२औं मिनटमा वमनगिटुकाले व्यक्तिगत दोस्रो गोल गर्दै स्टुटगार्टको अग्रता दोब्बर पारे । लगतै ६०औं मिनटमा फिलिप फोस्टरले तेस्रो गोल गरे भने त्यसको तीन मिनट लगतै टान्गाई कुलीबेलीले स्टुटगार्टका लागि चौथो गोल गरे । दोस्रो हाफको अन्तिम सम्म लयमा देखिएको स्टुटगार्टका लागि इन्जुरी समयमा निकोलस गोन्जालेजले पाँचौं गोल गर्दै पाहुना टोलीको शानदार जित पक्का गरे ।

यो जितपछि ११ खेलबाट १७ अंकका साथ स्टुटगार्ट सातौं स्थानमा उक्लिएको छ । उता पराजित डर्टमुण्ड १९ अंकका साथ पाँचौ स्थानमा छ । गत सिजन दोस्रो स्थानमा रहेर लिगको समापन गरेको डर्टमुण्डले यस सिजन खेलेको पछिल्ला ५ खेलहरुमा एकमा मात्र जित हात पारेको छ भने तीनमा हार बेहोर्न पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...