चेल्सीको अपराजित यात्रामा पूर्णविराम (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार नै भएको अर्को खेलमा लण्डन क्लब चेल्सीले इभर्टनसँग स्तब्धपुर्ण हारको सामना गर्नुपरेको छ । इभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा चेल्सीले घरेलु टोलीसँग १–० को झिनो अन्तरको हार बेहोर्न बाध्य भयो ।

पहिलो हाफतर्फ चेल्सीका गोलरक्षक इडुवार्ड मेन्डीले इभर्टनका डोमिनिक कलभर्ट–लेविनलाई बक्स भित्र फल गरेपछि इभर्टनले पेनाल्टीको अवसर पाएको थियो । जसलाई २२औं मिनटमा जिल्फी सिगुर्डसनले कुनै गल्ती नगरी गोलपोष्टको जाली चुमाएका थिए ।

गोल खाए लगतै खेलमा थप आक्रमक बनेको चेल्सीले गोलका लागि काउन्टर अट्याकको जालो बुने तापनि फ्रान्क लाम्पार्डको टोलीले आफ्नो निश्चित हारलाई टार्न सकेन । यो हारसँगै चेल्सीले १७ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।

त्यस्तै यो महत्वपूर्ण जितसँगै १२ खेलबाट २० अंक जोडेको इभर्टन सातौं स्थानमा उक्लिएको छ । उता पराजित चेल्सी भने २२ अंकका साथ तेस्रो स्थानमा छ र शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । लिगतालिकामा २४–२४ अंक जोडेको टोटेनह्याम र लिभरपुल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

इभर्टनको घरमा फर्किएका फ्यान

कोरोना भाइरस महामारीका कारण समर्थकहरुलाई स्टेडियम प्रवेशमा निषेध गरिएको लामो समयपछि शनिबार राती पहिलोपटक गुडिसन पार्कमा फुटबल समर्थकहरुले प्रत्यक्ष खेलको मजा लिएका थिए ।

समर्थकहरु फर्किएपछि इभर्टनका खेलाडीहरु पनि हौसिएको स्पष्ट देखिन्थ्यो । उता इभर्टनका म्यानेजर कार्लो एन्सेलोटीले पनि फुटबल मैदानमा समर्थकहरु फर्किनुले आफ्ना खेलाडीहरुलाई थप हौसला मिलेको प्रतिक्रिया दिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...