म्यानचेष्टर डर्बीमा निराशाजनक बराबरी (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा सिजनको पहिलो म्यानचेष्टर डर्बी निराशाजनक बराबरीमा सकिएको छ । शनिबार राती म्यानचेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेल गोलरहित बराबरीमा सकिएको हो ।

खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक भए तापनि गोल भने दुवै टोलीबाट हुन सकेनन् । पहिलो हाफमा म्यानचेष्टर सिटीले राम्रो दबाब कायम गर्यो । ग्याब्रिल जिसुस, रियाद महरेज र केभिन डि ब्रुईन जस्ता स्टार खेलाडीहरुले अवसरको केही सदुपयोग गर्न सकेनन् । साथै अवसर मिलाइदिन पनि केही हदसम्म चुके ।

उता गत सिजन युनाइटेडले सिटी विरुद्ध खेलेको चार खेलहरुमध्ये तीनमा जित निकालेको थियो । लिगमै युनाइटेडले सिटी विरुद्ध होम एण्ड अवे दुई म्याच जितेको थियो । तर सोही प्रदर्शनलाई शनिबार राती म्यानचेष्टर युनाइटेडले फेरि दोहोर्याउन सकेन ।

थिएटर अफ ड्रिम्स अर्थात ओल्ड ट्राफोर्डमा दर्शकहरुको अनुपस्थितिले पनि थप निराशाजनक खेलको माहोल देखियो । प्रिमियर लिगका अन्य केही क्लबहरुले आफ्नो समर्थकहरुलाई मैदान मै ल्याउन पाउने अनुमति पाइसके तापनि म्यानचेष्टरले अझै यो अनुमति पाएको छैन ।

स्मरण रहोस, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले गत महिना नै कोभिड–१९ को खतरा कम भएको शहरहरुमा हुने खेलकुद गतिविधीमा सिमित संख्यामा दर्शकहरुलाई स्टेडियम प्रवेशको अनुमति दिएका थिए ।

शनिबारको बराबरी नतिजापछि ११ खेलबाट २० अंक जोडेको युनाइटेड लिगतालिकाको आठौं स्थानमा छ । उता सिटी भने १९ अंकका साथ नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...