उत्कृष्ट पूनरागमनसँगै वेस्ट ह्याम पाँचौं स्थानमा उक्लियो (भिडियोसहित)

एजेन्सी । खेलको शुरुवात मै स्तब्धपुर्ण पेनाल्टी गोल खान पुगेको वेस्ट ह्याम युनाइटेडले इङलिस प्रिमियर लिगतर्फ शुक्रबार राती उत्कृष्ट पूनरागमन गर्दै रोमाञ्चक जित हात पारेको छ ।

एलान्ड रोडमा भएको खेलमा वेस्ट ह्यामले नवआगन्तुक तथा घरेलु टोली लिडस युनाइटेडलाई २–१ ले हराउँदै लिगतालिकाको पाँचौं स्थानमा उक्लिन सफल भयो । लिड्सका लागि आठौं मिनटमैै म्याट्युज क्लिचले पेनाल्टीबाट पहिलो गोल गरे ।

यद्यपि त्यो पेनाल्टी क्लिचले दोहोरो प्रयास गर्नुपरेको थियो । पहिलोपटकको पेनाल्टी प्रहारमा भिडियो एसिस्टेन्ट रेफ्रीले विपक्षी गोलरक्षक गोललाईन बाहिर निस्किएको भन्दै फेरि पेनाल्टी प्रहार गर्न भनिएको थियो । पहिलो प्रयासमा वेस्ट ह्यामका गोलरक्षकले पेनाल्टी बचाउ गरेका थिए तर दोस्रोपल्टको प्रयासमा क्लिचले गोल गर्न भने सफल भए ।

पहिलो हाफकै २५औं मिनटमा टोमस सुसेकले गोल गरेपछि वेस्ट ह्यामले खेललाई १–१ को बराबरीमा ल्याउन सफल भएको थियो । खेलको निर्णायक गोल भने दोस्रो हाफमा भयो । खेल समापन कै संघारमा पुगिरहेको बेला एन्जेलो ओगबोनाले ८०औं मिनटमा हेडद्वारा निर्णायक गोल गरे । र वेस्ट ह्यामलाई तीन अंक दिलाए ।

यो जितसँगै १२ खेलबाट २० अंक जोडेको वेस्ट ह्याम लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । र, चौथो स्थानको लेस्टर सिटी भन्दा १ अंकले पछि छ । यद्यपि लेस्टरले एक खेल कम खेलेको छ । उता पराजित लिड्स भने १४ अंकका साथ १४औं स्थान मै छ ।


प्रतिक्रिया दिनुहोस

Loading...