क्याम्प नोउमा सात बर्षपछि फर्किएको त्यो हार…

एजेन्सी । युइएफए च्याम्पियन्स लिगतर्फ मंगलबार राती समूह जी तर्फको अन्तिम खेलमा धेरैको ध्यान तानिएको थियो । त्यतिबेला वर्तमान फुटबलका दुई हस्ती क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी फेरि आमने सामने हुँदै थिए ।

रोनाल्डोले इटालियन च्याम्पियन युभेन्टसको प्रतिनिधित्व गरिरहेका थिए भने मेसीले बार्सिलोनाको कमान सम्हालेका थिए । सो खेल दुवै खेलाडीका लागि प्रतिष्ठाको भिडन्त पनि थियो ।

पहिलो लेगको खेलमा रोनाल्डोले कोरोना भाइरस संक्रमणका कारण खेलेका थिएनन् । सो खेलमा बार्सिलोना २–० ले बिजयी भएको थियो । त्यतिबेला मेसीले पनि गोल गरेका थिए ।

तर मंगलबारको खेलमा भने रोनाल्डो चम्किए । उनको दुई पेनाल्टी गोलको सहयोगमा युभेन्टसले बार्सिलोनालाई ३–० ले हराउन सफल भयो । र समूह जी को समूह विजेता बन्न पनि सफल भयो । समान १५–१५ अंक भए तापनि बार्सिलोना गोलभिन्नताका आधारमा युभेन्टस भन्दा पछि पर्न पुग्यो ।

तर, त्यो हार बार्सिलोनाका लागि सम्झनलायक भने रह्यो । त्यो हारसँगै युरोपियन प्रतिस्पर्धामा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सात बर्षपछि क्याटलन जायन्टले हारको सामना गर्न पर्यो ।

अर्थात् बार्सिलोनाले युरोपियन प्रतिस्पर्धामा ३८ खेलहरु पश्चात् घरेलु मैदान मै मंगलबार पहिलोपटक हारको सामना गर्नुपर्यो । स्मरण रहोस, बार्सिलोना सन् २०१३ को सेप्टेम्बर यता युरोपियन प्रतिस्पर्धामा घरेलु मैदानमा अपराजित थियो ।

जुन अपराजित यात्रा रोनाल्डो र उनको टोली युभेन्टसले तोडन सफल भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...