युरोपा लिगमा आर्सनलको शतप्रतिशत जित (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेको लण्डन क्लब आर्सनलले युरोपा लिगमा भने आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ ।

बिहीबार राती डब्लिनमा आएको समूह बी तर्फको आफ्नो अन्तिम खेलमा आर्सनलले आइरिस क्लब डुन्डकलाई ४–२ ले हरायो र समूह बी को विजेता बन्यो ।

खेल शुरु भएको १२औं मिनटमा एडि निकिटियाको गोलबाट आर्सनलले खेलमा अग्रता बनाएको थियो । त्यसको ६ मिनट लगतै मोहमद इल्नेनीले त्यो अग्रता दोब्बर पारे । तर २२औं मिनटमा जोर्डन फ्लोरेसले डुन्डकका लागि पहिलो गोल फर्काउँदै घरेलु टोलीलाई आशा दिलाए ।

खेलमा आर्सनल त्यति मै रोकिएन । दोस्रो हाफको ६७औं मिनटमा जोसेफ विलकले गनर्सका लागि तेस्रो गोल गरे भने ८०औं मिनटमा फोलारिन बेलोगिनले चौथो गोल गर्दै टोलीको सहज जित पक्का गरे । उता पराजित डुन्डकका लागि ८५औं मिनटमा सिन होरेले दोस्रो गोल फर्काए तापनि त्यो गोल घरेलु टोलीको हार टार्न अबेर भइसकेको थियो ।

त्यस्तै बिहीबार राती नै भएको समूह बी तर्फको खेलमा मोल्डी र रेपिड भियनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

आर्सनलको शतप्रतिशत जित र समूह विजेता

बिहीबारको नतिजापछि समूह बी मा अपराजित रहँदै शतप्रतिशत आफ्नो पक्षमा नतिजा निकालेको आर्सनलले ६ खेलबाट १८ अंक जोड्दै शिर्ष स्थानमा छ । र समूह विजेता समेत बनेको छ ।

त्यस्तै मोल्डी १० अंकका साथ दोस्रो स्थानमा छ र नकआउट चरणका लागि छनौट भएको छ । उता ७ अंक जोडेको रेपिड भियना तेस्रो स्थानमा र अंकविहीन डुन्डक पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...