इटालीका विश्वकप हिरो रोसीको निधन

एजेन्सी । विश्व फुटबलले अर्जेन्टिनी लिजेण्ड डिएगो म्याराडोनालाई गुमाएको महिना दिन नपुग्दै इटालीले आफ्नो विश्वकप हिरो पाओलो रोसीलाई गुमाएको छ ।

सन् १९८२ मा इटालीलाई फिफा विश्वकपको उपाधि जिताउन नायकीय भूमिका खेलेका रोसीको ६४ बर्षको उमेरमा निधन भएको हो । उनको निधनको पुष्टी पारिवारिक स्रोतले समेत गरेको छ ।

यद्यपि उनको निधनको कारण भने खुलाइएको छैन । तर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रोसी लामोदेखि बिरामी थिए । र आफ्नो स्वास्थ्यसँग संघर्ष गरिरहेका थिए ।

१९८२ विश्वकपका हिरो

सन् १९८२ मा इटालीले तेस्रोपटक फिफा विश्वकपको उपाधि जित्दा रोसी टोलीका नायक साबित भएका थिए । फाइनलमा इटालीले पश्चिम जर्मनीलाई ३–१ ले हराउँदा रोसीले पनि गोल गरेका थिए ।

सो विश्वकपको समूह चरणतर्फ दावेदार मानिएको ब्राजील विरुद्ध रोसीले गरेको ह्याट्रिकलाई अहिले पनि धेरै फुटबल फ्यानहरुले् सम्झिने गर्छन् । खेलमा इटाली ३–२ ले विजयी भएको थियो । त्यो हारपछि ब्राजील समूह चरणबाटै समेत बाहिरिएको थियो ।

उक्त विश्वकपमा रोसी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी समेत घोषित भए । त्यति मात्र नभएर सोही बर्ष उनले प्रतिष्ठित बेलन डि’अर अवार्ड समेत जित्न सफल भएका थिए ।

इटालीका लागि समग्रमा ४८ खेल खेल्दै २० गोल समेत गरेका रोसीले आफ्नो व्यवसायीक फुटबल करियरमा युभेन्टस, मिलान जस्ता इटालियन महारथीबाट समेत खेलेका थिए ।

फुटबल सन्यास लिएपछि उनले केही बर्ष फुटबल पण्डितका रुपमा रहेर समेत आफूलाई फुटबल कै क्षेत्रमा सक्रिय राखेका थिए । त्यति मात्र नभएर ब्राजिलियन लिजेण्ड पेलेले उनलाई विश्व कै उत्कृष्ट जिवित १२५ फुटबल खेलाडीहरुको सूचीमा समेत सामेल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...