नश्लभेदका कारण ओझेलमा परेको नेमारको ह्याट्रिक (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगतर्फ मंगलबार राती पेरिस सेन्ट जर्मेन (पिएसजी) र इस्तानबुल बसकसेहिर बीचको खेल नश्लवादी विवादका कारण स्थगित गरिएको थियो । समूह एच तर्फको त्यो खेल बुधबार फेरि सूचारु पनि गरियो ।

पेरिसमा भएको सो खेलमा पिएसजीले नतिजा ५–१ ले आफ्नो पक्षमा पार्न सफल भयो । पिएसजीको जितमा नेमारले ह्याट्रिक गरे । उनले २१, ३७ र ५०औं मिनटमा गरि तीन गोल गरे । तर उनको त्यो ह्याट्रिक मंगलबारको घट्नाले ओझेल मै पर्यो ।

थप दुई गोल भने फ्रेन्च स्टार किलियन एम्बाप्पेको नाममा रह्यो । एम्बाप्पेले पहिलो गोल ४२औं मिनटमा गरेका थिए भने दोस्रो गोल ६२औं मिनटमा पेनाल्टीबाट गरेका थिए । उता पराजित इस्तानबुलका लागि एक मात्र गोल ५७औं मिनटमा मेहमत तोपलले गरेका थिए ।

पिएसजी समूह विजेता, लिपजिग उपविजेता

बुधबार भएको सो खेल पश्चात् समूह एचमा ६ खेलबाट १२ अंक जोडेको पिएसजी गोल भिन्नताका आधारमा शिर्ष स्थानमा रहँदै समूह विजेता बन्यो र नकआउट चरणमा पुग्यो । दोस्रो स्थानमा रहेको आरबी लिपजिगको पनि समान १२ अंक भए तापनि दोस्रो स्थानमा रहेर उपविजेता बन्यो ।

९ अंकका साथ तेस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड समूह चरणबाट बाहिरियो र युरोपा लिगमा स्थानान्तरण भयो । स्मरण रहोस, म्यानचेष्टरले मंगलबार राती बराबरी मात्र गरे पुग्ने खेलमा लिपजिगसँग ३–२ को सनसनीपूर्ण हार बेहोरेको थियो । त्यस्तै ३ अंकका साथ पुछारमा रहेको इस्तानबुल भने समूह चरणबाटै बाहिरियो ।

नश्लभेदी विवादले स्थगित भएको खेल

मंगलबार राती पिएसजी र इस्तानबुलबीचको खेल चलिरहेकै बेला नश्लभेदी विवादका कारण खेल स्थगित भएको थियो । खेल १४औं मिनटमा चलिरहँदा फोर्थ अफिसियलले इस्तानबुलका सहायक प्रशिक्षक पिएरे वेबोमाथि नश्लभेदी शब्द प्रयोग गरेपछि विवाद चर्किएको थियो ।

इस्तानबुल र पिएसजी दुवैका खेलाडीहरुले प्रशिक्षक वेबोको समर्थनमा मैदान छाडेपछि खेल थप तनावपुर्ण बनेको थियो । र अन्ततः स्थगित गर्नुपरेको थियो । सोही खेल बुधबार १४ मिनटबाटै सुचारु गरिएको थियो । त्यतिबेला दुवै टोलीको गोलनतिजा ०–० थियो ।

सो घट्नापछि खेलका फोर्थ अफिसियललाई मैदानबाट हटाउने निर्णय भएको थियो । साथै युइएफएले यो घट्नाबारे आवश्यक छानबिन समेत शुरु गरिसकेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...