बराबरीमा रोकियो लिभरपुल, तर पनि समूह विजेता (भिडियोसहित)

एजेन्सी । इङलिस च्याम्पियन लिभरपुल बुधबार च्याम्पियन्स लिगतर्फ समूह चरणको आफ्नो अन्तिम खेलमा बराबरीमा रोकिएको छ । यद्यपि बराबरीमा रोकिनुका बावजुद पनि समूह डी बाट रेड समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

लिभरपुलले समूहको अन्तिम खेलमा डेनिस क्लब मिड्जील्याण्डसँग १–१ को बराबरी खेल्यो । खेलको पहिलो मिनटमै मोहमद सलाहको गोलबाट अग्रता लिएको रेडसले त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो ।

सलाहले खेल शुरु भएको ५५औं सेकेण्डमा गरेको त्यो गोल च्याम्पियन्स लिगमा क्लब इतिहास मै लिभरपुलका लागि सबैभन्दा छिटो गरिएको गोल समेत बन्यो ।

उता मिड्जील्याण्डका लागि भने ६२औं मिनटमा अलेक्जेन्डर स्कोल्जले पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए ।

समूह डी को आँकडा

बुधबार रातीको नतिजा पश्चात् ६ खेलबाट १३ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा रह्यो । त्यस्तै ११ अंक जोडेको इटालियन क्लब एटलान्टा दोस्रो स्थानमा रहेर नकआउट प्रवेश गर्यो ।

एटलान्टाले बुधबार राती नै भएको अर्को महत्वपूर्ण खेलमा डच क्लब एजाक्सलाई १–० को साँघुरो अन्तरले हरायो र समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

उता ७ अंक जोडेको एजाक्स एटलान्टासँगको हारसँगै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न असफल भयो । र तेस्रो स्थानमा रहेर युरोपा लिगका लागि स्थानान्तरण भयो । २ अंकका साथ पुछारमा रहेको मिड्जील्याण्ड भने समूह चरणबाटै बाहिरियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...