बेन्जेमा चम्किदा रियल नकआउट चरणमा (भिडियोसहित)

एजेन्सी । फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा एक्लैले दुई गोल गरेपछि रियल मेड्रिड महत्वपूर्ण जितका साथ च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राती भएको समूह बी तर्फको खेलमा रियलले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० ले हरायो । रियलको घरेलु मैदानमा भएको खेलमा दुवै गोल बेन्जेमाको नाममा रह्यो ।

खेलमा बेन्जेमाले दुवै गोल पहिलो हाफमा गरे र दुवै गोल हेडद्वारा नै गरे । पहिलो गोल खेलको नवौं मिनटमा लुकास भाज्केजको क्रस पासमा गरे भने दोस्रो गोल ३१औं मिनटमा रोड्रिगोको क्रसमा गरेका थिए ।

इन्टर बाहिरियो, बोरुसिया नकआउट चरणमा

समूह बी मै रहेको अर्को इटालियन महारथी इन्टर मिलान भने समूह चरणबाटै बाहिरिएको छ । बुधबार राती नै भएको अर्को खेलमा शख्तर डोनेस्कसँग गोलरहित बराबरी खेलेको इन्टर ६ अंकका साथ पुछारमा रहेर समूह चरणबाटै बाहिरिएको हो ।

उता समान ८–८ अंक भए तापनि बोरुसिया गोल भिन्नताका आधारमा दोस्रो स्थानमा छ र नकआउट चरणका लागि छनौट भएको छ । समान ८ अंक नै भएको शख्तर तेस्रो स्थानमा छ र युरोपा लिगका लागि स्थानान्तरण भएको छ ।

त्यस्तै ६ खेलबाट कुल १० अंक जोडेको रियल भने समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...