एजेन्सी । च्याम्पियन्स लिगतर्फ समूह एचको अन्तिम खेलका रुपमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र इस्तानबुल बसकसेहिर बीचको खेल नश्लभेदी विवादका कारण रद्द भएको छ ।
पेरिसमा हुने भनिएको उक्त खेलका क्रममा फोर्थ अफिसियल सेवास्टिन कस्टेस्कुले इस्तानबुलका सहायक प्रशिक्षक पिएरे विबोलाई लक्षित गरेर नश्लभेदी शब्द प्रयोग गरेपछि विवाद चर्किएको थियो ।
त्यसपश्चात विबोलाई रेफ्रीले रातो कार्ड समेत देखाए । रेफ्रीले कार्ड देखाएसँगै थप चर्किएको विवादमा आफ्ना प्रशिक्षक विबोको समर्थनमा इस्तानबुलका खेलाडीहरुले खेल छाडी मैदान बाहिरिएका थिए । उता विपक्षी खेलाडीहरु कै समर्थनमा उत्रिएको पिएसजीका खेलाडीहरुले पनि मैदान छाडेका थिए ।
मंगलबारको सो खेल आज (बुधबार) हुने
मंगलबार राती रद्द गरिएको सो खेल आज राती हुने भएको छ । खेल १४ मिनट हुँदा विवादका कारण रद्द भएको थियो । युइएफएका अनुसार आज हुने खेल सोही समयबाट सुचारु हुनेछ । त्यतिबेला खेलको नतिजा गोलरहित समेत थियो ।
स्मरण रहोस, समूह एच बाट आरबी लिपजिगसँगै पिएसजी यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ । उता इस्तानबुल भने समूह चरणबाट बाहिरिसकेको छ ।
बुधबार फेरि सूचारु हुने खेल नयाँ रेफ्रीहरुले खेलाउने समेत युइएफएले जनाएको छ ।