रोनाल्डोको गोलले क्याम्प नोउमा युभेन्टसले लियो बदला (भिडियोसहित)

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि च्याम्पियन्स लिगमा मंगलबार राती युभेन्टसले बार्सिलोनासँग घरेलु म्याचमा बेहोरेको हारको बदला लिन सफल भएको छ ।

यसअघि गत अक्टुबरमा टुरिनमा भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई २–० ले हराएको थियो । सो खेलमा रोनाल्डोले भने कोरोना भाइरस संक्रमणका कारण खेल्न सकेका थिएनन् ।

उता मंगलबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बार्सालाई ३–० ले हराउँदै समूह चरणमा बेहोरेको हारको बदला लिन समेत सफल भयो ।

युभेन्टसका लागि रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरे । खेलको १३औं मिनटमै रोनाल्डोले पहिलो गोल गरे । बार्साका रोनाल्ड आरुजुले बक्स भित्र फल गरेपछि युभेन्टसले पहिलो पेनाल्टीको अवसर पाएको थियो । त्यस्तै लगतै २०औं मिनटमा वेस्टन म्याकेनीले उत्कृष्ट बाइसाइकल किक गोल गर्दै युभेन्टसको त्यो अग्रता दोब्बर पारे ।

पहिलो हाफसम्म दुई गोल गरेको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । त्यो गोल पनि रोनाल्डोको नाममा रह्यो । ५२औं मिनटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युभेन्टसको शानदार जित पक्का गरे ।

त्यति मात्र नभएर रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो गोलसंख्या १३४ समेत पुर्याउन सफल भए ।

युभेन्टस समूह विजेता

मंगलबार रातीको जितसँगै युभेन्टस समूह जी बाट विजेता बनेको छ । त्यस्तै १५ अंक नै जोडेको बार्सिलोना गोल भिन्नताका आधारमा पछि पर्दै समूह उपविजेता बनेको छ ।

मंगलबार समूह जी कै अर्को खेलमा डाइनामो किभले फेरेन्कभरोसलाई १–० ले हरायो । यो जितका बावजुद किभ ४ अंकका साथ तेस्रो स्थानमा छ भने १ अंक जोडेको फेरेन्कभरोस पुछारमा छ ।

रोनाल्डो र मेसीको भेट

मंगलबार राती व्यवसायीक फुटबलमा रोनाल्डो र मेसीको त्यो ३६औं भेट थियो । त्यति मात्र नभएर यी दुवैले एक साथ च्याम्पियन्स लिग कुल ९ पटक जितेका छन् भने दुवैले कुल २५२ गोल समेत गरेका छन् ।

मंगलबार भने रोनाल्डोका लागि विशेष रह्यो । पोर्चुगिज स्टारले च्याम्पियन्स लिगमा मेसी कै उपस्थितिमा पहिलोपटक बार्सिलोना विरुद्ध गोल गर्न सफल भए । र, आफ्नो करियरको अविस्मरणीय क्षण कैद गर्न सफल भए ।

स्मरण रहोस, च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा समेत छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...