बार्सा र युभेन्टसबीच बर्षको दोस्रो भिडन्त आज, तथ्यांकमा बलियो बार्सा

एजेन्सी । वर्तमान फुटबलका दुई दिग्गज फुटबलर लियोनल मेसी र क्रिष्टियानो रोनाल्डो आज राती बर्षको दोस्रोपटक आमने सामने हुँदैछन् । अर्थात् क्याम्पन नोउमा च्याम्पियन्स लिगको समूह चरणतर्फ अन्तिम खेलमा आज राती बार्सिलोना र युभेन्टस भिड्दै छन् ।

च्याम्पियन्स लिगको समूह जी मा रहेका यी दुवै टोली नकआउट चरणका लागि छनौट भइसकेका छन् । यद्यपि आजको यो भिडन्त समूह विजेता बन्ने होडका लागि पनि हुनेछ । त्यस्तै युभेन्टसले गत अक्टुबरमा समूह चरणको पहिलो खेलमा बार्सिलोनासँग घरमै बेहोरेको हारको बदला लिने योजनामा समेत छ ।

स्मरण रहोस, टुरिनमा भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले युभेन्टसलाई २–० ले हराएको थियो । सो खेलमा मेसीले पेनाल्टीबाट एक गोल गरेका थिए । उता रोनाल्डो भने कोरोना संक्रमणका कारण मैदानमा उत्रिएका थिएनन् ।

युभेन्टस माथि सधै बारी बार्सा

च्याम्पियन्स लिगमा दुवै टोली बीच अहिलेसम्म कुल १० खेलहरु भएका छन् । जसमा चारपटक बार्सिलोनाले जित हात पारेको छ भने २ पटक युभेन्टसले जितेको छ । त्यस्तै चारपटक भने यी दुई टोलीले बराबरी खेलेका छन् ।

त्यसैगरी गोलको मामिलामा पनि युभेन्टस भन्दा बार्सिलोना अगाडी छ । हालसम्म भएका यी दुई टोलीबीचको खेलहरुमा कुल २० गोल भएका छन् । जसमा १२ गोल बार्सिलोनाले गरेको छ भने ८ गोल युभेन्टसको नाममा रहेको छ ।

च्याम्पियन्स लिगको उपाधिमा पनि बार्सा अब्बल

च्याम्पियन्स लिगको उपाधि पनि बार्सिलोनाले कुल पाँच पटक जितेको छ । बार्साले १९९२, २००६, २००९, २०११ र २०१५ मा गरि पाँच पटक जितेको छ । उता युभेन्टसले भने केवल दुईपटक मात्र च्याम्पियन्स लिगको उपाधि उचालेको छ । इटालियन च्याम्पियनले सन् १९८५ र १९९६ मा यो उपाधि जितेको थियो ।

यद्यपि च्याम्पियन्स लिगको उपाधि सबैभन्दा बढी रियल मेड्रिडले जितेको छ । रियलले प्रतिष्ठित यो उपाधि किर्तिमानी १३ पटक आफ्नो कब्जामा पारि सकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...