समर्थकबीच पूनरागमन र शिर्ष स्थानमा उक्लियो चेल्सी (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगतर्फ शनिबार राती नौ महिना पछि फुटबल समर्थकहरुबीच मैदानमा उत्रिएको चेल्सीले उत्कृष्ट पूनरागमन गर्दै लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रीजमा भएको खेलमा चेल्सीले नवआगन्तुक टोली लिड्स युनाइटेडलाई ३–१ ले हरायो । तर खेलमा शुरुवाती अग्रता भने लिडसले नै लिएको थियो ।

खेलको चौथो मिनटमै पेट्रिक बामफोर्डले लिडसका लागि गोल गर्दै पाहुना टोलीलाई खेलमा अप्रत्याशित अग्रता दिलाएका थिए । तर चेल्सी पहिलो हाफ मै सम्हालिन सफल भयो ।

खेलको २७औं मिनटमा ओलिभर जिरुडले चेल्सीका लागि बराबरी गोल फर्काए । पहिलो हाफसम्म १–१ कै नतिजा कायम रह्यो । दोस्रो हाफतर्फ ६१औं मिनटमा डिफेन्डर कर्ट जुमाले दोस्रो गोल गरे । मेसन माउण्टको पासमा जुमाले टोलीलाई २–१ को अग्रता दिलाए ।

खेलको अन्तिमतिर इन्जुरी समयमा क्रिष्टियन पुलिसिकले चेल्सीका लागि तेस्रो गोल गरे । टिमो वेर्नरले पास मिलाइदिएपछि वैकल्पिक खेलाडी पुलिसिकले ब्लुजको जित ३–१ को अन्तरमा पुर्याउन सफल भए ।

लिगतालिकामा चेल्सी र लिडस

शनिबारको जितसँगै ११ खेलबाट २२ अंक जोडेको चेल्सी शिर्ष स्थानमा उक्लिएको छ । र, दोस्रो स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी टोटेनह्याम भन्दा १ अंकले अगाडी छ । यद्यपि टोटेनह्यामले एक खेल कम खेलेको छ । उता पराजित लिड्स भने १४ अंकका साथ १३औं स्थानमा झरेको छ ।

समर्थक फर्किएको स्टामफोर्ड ब्रीज

शनिबार चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रीजमा समर्थकहरुको उपस्थितिमा जितको खुशीयाली मनायो । ९ महिना पछि स्टेडियममा फर्किएका समर्थकहरुलाई चेल्सीले पनि निराश हुन दिएन । कोरोना भाइरस महामारीका कारण खाली रंगशालामा खेल्दै आएको चेल्सीले फ्यानहरुको उपस्थितिसँगै उत्साहित पनि देखियो ।

स्मरण रहोस, केही साता अघि मात्र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड–१९ को खतरा कम भएको शहरहरुमा हुने खेलकुद गतिविधीहरुमा सिमित संख्यामा दर्शकहरुलाई मैदान प्रवेश गर्न दिने घोषणा गरेका थिए ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...