टुरिन डर्बीमा युभेन्टसको उत्कृष्ट पूनरागमन (भिडियोसहित)

एजेन्सी । शुरुवाती गोलले पछि परेको स्थिति उल्टाउँदै डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरि ए तर्फ शनिबार राती उत्कृष्ट जित निकालेको छ । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा युभेन्टसले शहरी प्रतिद्वन्द्वी टोरिनोलाई २–१ ले हरायो ।

खेलको नवौं मिनटमै निकोलास एन्कुलुको गोलबाट टोरिनोले खेलमा सनसनीपूर्ण अग्रता बनाएको थियो । उता जुआन क्वाडराडोले गरेको उत्कृष्ट गोल भिडियो एसिस्टेन्ट रेफ्री (भार) ले मान्यता नदिंदा युभेन्टस चुकचुकाउनु परेको थियो । तर घरेलु टोलीले दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गर्यो ।

युभेन्टसका लागि ७७औं मिनटमा वेस्टन म्याककेनीले बराबरी गोल फर्काए । क्लबका लागि उनको त्यो डेब्यु गोल समेत थियो । खेलमा टोरिनो विरुद्ध निरन्तर दबाब कायम राखेको युभेन्टसका लागि निर्णायक गोल भने कप्तान लियोनार्डो बोनुच्चीले गरे । उनले खेलको ८९औं मिनटमा हेड गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

लिगतालिकामा युभेन्टसको स्थान

शनिबार रातीको जितपछि युभेन्टस १० खेलबाट २० अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । र लिगलिडर एसी मिलान भन्दा ३ अंकले पछाडी छ । यद्यपि मिलानले एक खेल कम खेलेको छ ।

उता यस सिजन एक खेल मात्र जित्न सकेको टोरिनो भने १० खेलबाट ६ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...