म्याराडोनालाई नापोलीले दिएको अमूल्य सम्मान

एजेन्सी । इटालियन सिरि ए क्लब एसएससी नापोलीले आफ्नो पूर्व लिजेण्डरी खेलाडी डिएगो म्याराडोनाको सम्मानमा आफ्नो स्टेडियम नाम परिवर्तन गरेको छ । नेप्लेस स्थित रहेको नापोलीको आफ्नो स्टेडियम स्टाडियो साओ पाओलोको नाम अब स्टाडियो डिएगो अर्मान्डो म्याराडोना भएको छ ।

गत साता मात्र ६० बर्षको उमेरमा निधन भएका अर्जेन्टिनी लिजेण्ड म्याराडोनाले आफ्नो व्यवसायीक फुटबल करियरको सफलतम सिजन नापोली मै बिताएका थिए । जहाँ नपोलीका लागि उनले दुई सिरि ए, कोपा इटालिया र युइएफए कप जितेका थिए ।

स्मरणीय छ, नापोलीलाई म्याराडोनाले नै अन्तिमपल्ट सिरि ए को उपाधि जिताएका थिए । म्याराडोनाले नापोलीलाई सन् १९८६–८७ र १९८९–९० को उपाधि जिताएका थिए । १९८६–८७ को सिजनमा नापोलीले कोपा इटालियाको उपाधि समेत जितेको थियो । त्यस्तै १९८८–८९ मा युइएफए कप जितेको थियो भने १९९० मा सुपरकोपा इटालियानाको उपाधि जितेको थियो ।

क्लब मालिकले राखेको प्रस्ताव

म्याराडोनाको निधनपछि विश्व फुटबल शोकमा थियो । त्यो शोकमा डुब्ने इटालियन शहर नेप्लेस पनि थियो । म्याराडोनाको निधन लगतै क्लबका वर्तमान मालिक औरेलियो डे लाउरेन्टिसले स्टाडियो साओ पाओलोको नाम म्याराडोनाको नाममा राख्न प्रस्ताव गरेका थिए ।

उनको यो प्रस्तावलाई नेप्लेसका मेयर लुईजी डे मेजिस्ट्रिसले पनि समर्थन गरेका थिए । अन्ततः नेप्लेस सिटी काउन्सीलले नापोलीको स्टाडियो साओ पाओलोको नाम स्टाडियो डिएगो अर्मान्डो म्याराडोना राख्न अनुमति दिएको थियो ।

बार्सिलोना पछि नापोलीको यात्रा

म्याराडोना सन् १९८४ मा बार्सिलोनाबाट नापोलीमा आएका थिए । नापोलीमा सात बर्ष बिताएका उनले इटालियन क्लबलाई एक अविस्मरणीय सफलताको शिखरमा पुराएका थिए ।

गत २५ नोभेम्बरका दिन म्याराडोनाको निधन हुँदा नेप्लेस शहर पनि शोकमा डुबेको थियो । हजारौंको संख्यामा नापोलीका समर्थकहरु स्टेडियम अगाडी भेला भएका थिए ।

त्यति मात्र नभएर नापोलीले आफ्नो युरोपा लिगको खेलतर्फ म्याराडोनालाई सम्मान समेत गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...