पिएसजीमा मेसीसँगै खेल्न चाहन्छन् नेमार, सम्भव होला त ?

एजेन्सी । केही बर्ष अघिसम्म बार्सिलोनाबाट सँगै खेल्दा अर्जेन्टिनी सुपर स्टार लियोनल मेसी र ब्राजिलियन स्टार नेमारको सम्बन्ध सुमधुर थियो । मैदानमा यी दुईबीचको तालमेललाई पनि धेरैले रुचाएका थिए ।

अहिले आएर नेमारले फेरि मेसीसँग खेल्न चाहेको कुरा सार्वजनिक रुपमै भनेपछि त्यसले ठूलो चर्चा बटुलिरहेको छ । च्याम्पियन्स लिगतर्फ म्यानचेष्टर युनाइटेड विरुद्ध पिएसजीलाई ३–१ को जित दिलाएपछि नेमारले सो धारणा अभिव्यक्त गरेका हुन् ।

म्यानचेष्टर विरुद्धको खेलमा एक्लैले दुई गोल गरेका नेमारले इएसपिएनसँगको कुराकानीका क्रममा भनेका छन्, “खासगरी म मेसीसँग फेरि खेल्न चाहन्छु । मैदानमा उनीसँगै फेरि खेलको मजा लिन चाहन्छु । उनी (मेसी) यहाँ (पिएसजी) मा आएर सँगै खेल्न सक्छन् । त्यसमा मलाई कुनै समस्या छैन । तर आगामी बर्ष म निश्चित रुपमा मेसीसँग खेल्न चाहन्छु ।”

स्मरण रहोस, केही दिन अघि मात्र बार्सिलोनाका अन्तरिम अध्यक्ष कार्लोस टुस्केटसले ‘गत समरमा मेसीलाई क्लबले बेच्नुपर्ने थियो’ भन्ने प्रतिक्रिया दिएपछि नेमारको यो भनाई आएको हो ।

गत समर मेसीले आधिकारिक रुपमै बार्सिलोनालाई आफूले क्याम्प नोउ छोड्न चाहेको बताएका थिए । त्यतिबेला विश्व फुटबलमा यसले निकै चर्चा पनि पाएको थियो ।

क्लबका किर्तिमानी गोलकर्ता तथा कप्तान समेत रहेका ३३ बर्षिय मेसीको आगामी समर बार्सिलोनासँग आफ्नो सम्झौता समाप्त हुँदैछ । सो बेला फेरि मेसीको सम्भावित स्थानान्तरणलाई लिएर विश्व फुटबल फेरि तातिने सम्भावना निश्चित छ ।


प्रतिक्रिया दिनुहोस

Loading...