एजेन्सी । शुरुवाती दुई गोल खाएर खेलमा पछि परेको स्थिति उल्टाउँदै इटालियन महारथी एसी मिलानले युरोपा लिगतर्फ बिहीबार राती प्रभावशाली जित हात पारेको छ ।
घरेलु मैदान सान सिरोमा भएको समूह एच तर्फको खेलमा मिलानले स्कटिस क्लब सेल्टिकलाई ४–२ ले हरायो । खेलको सातौं मिनटमै थोमस रोजिकले गोल गर्दा सेल्टिकले खेलमा अग्रता लिएको थियो ।
लगतै १४औं मिनटमा ओडसोने इडुवार्डले सेल्टिकका लागि दोस्रो गोल गर्दै घरेलु टोली मिलान दबाबमा पर्न पुगेको थियो । तर मिलानले खेलमा उत्कृष्ट पूनरागमन गर्यो ।
२४औं मिनटमा हाकन कल्हानोग्लुले मिलानका लागि पहिलो गोल फर्काए । त्यसको दुई मिनट लगतै सामुएल केस्टिल्जोले दोस्रो गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याए ।
मिलान त्यति मै रोकिएन । दोस्रो हाफतर्फ ५०औं मिनटमा जेन्स हौजले घरेलु टोलीका लागि तेस्रो गोल गरे भने ८२औं मिनटमा ब्राहिम डियाजले चौथो गोल गर्दै सान सिरोमा मिलानको उत्कृष्ट जित पक्का गरे ।
यो जितपछि ५ खेलबाट १० अंक जोडेको मिलान समूह एच तर्फ दोस्रो स्थानमा छ । र नकआउट चरणमा पुगेको छ । सोही समूहमा रहेको लिले स्पार्टा प्रागलाई २–१ ले हराउँदै ११ अंकका साथ शिर्ष स्थानमा छ ।
त्यस्तै ६ अंक जोडेको स्पार्टा प्राग र १ अंक जोडेको सेल्टिक क्रमश तेस्रो र चौथो स्थानमा छन् । अनि यी दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् ।