युक्रेनी मैदानमा लेस्टर स्तब्ध (भिडियोसहित)

एजेन्सी । खेलको अन्तिमतिर गोल खान पुगेपछि इङलिस क्लब लेस्टर सिटीले युरोपा लिगतर्फ युक्रेनी मैदानमा बिहीबार राती स्तब्धपुर्ण हार बेहोर्न पुगेको छ ।

युरोपा लिगतर्फ समूह जी मा रहेको लेस्टरले युक्रेनी क्लब जोर्या लुहान्स्कसँग १–० को हार बेहोर्यो । समूह चरणतर्फ लेस्टरको यो पहिलो हार समेत थियो । खेलको ८४औं मिनटमा अलह्यार सयदमनेशले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो ।

यो हारसँगै लेस्टरले समूह जी को समूह विजेता बन्न अन्तिम खेलसम्म पर्खनु पर्ने भएको छ । समूह जी मै रहेको अर्को टोली ब्रागाले बिहीबार राती एइके एथेन्सलाई ४–२ ले हराएपछि लेस्टरको समूह विजेता बन्ने योजना पर धकेलिएको हो ।

समूह जीको अंक विवरण

लेस्टर र ब्रागाको समान १०–१० अंक छ र दुवै टोली नकआउट चरणमा समेत प्रवेश गरेका छन् । उता जोर्या लुहान्स्कको ६ अंक छ र तेस्रो स्थानमा छ । पुछारमा रहेको एथेन्सको ३ अंक छ ।

लुहान्स्क र एथेन्स भने समूह चरणबाटै बाहिरिएका छन् । आगामी साता अर्थात १० डिसेम्बरका दिन ब्रागाले जोर्या लुहान्स्कको सामना गर्नेछ भने सोही दिन लेस्टर एथेन्ससँग खेल्नेछ ।

सो दुई खेलको नतिजाबाट नै समूह जी को विजेता टोली र उपविजेता टोलीको टुंगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...